Friday 25 September 2009

कति बस्ने है सधैं पुछारमा?

नेपाल संसारको अति नै गरीब देश हो भनेर पढ्दा मलाई विद्यार्थीकालमा दुख र रिस उठ्थ्यो। रिस त अब उठ्दैन तर नेपाल भने जहाँको त्यहीं रही रह्यो। अझै यस्तो बिघ्न गरीब देशका ७५ जिल्ला मध्ये पनि सबै भन्दा तल पर्ने जिल्लाहरुमा जनजीवन कस्तो होला? शिक्षा, स्वास्थ्य आदी कस्तो अवस्थामा होलान् सोच्नु पर्ने हुन्छ।

मैले हुम्ला डेवलप्मेंट इनिशिएटिव(HDI)को एउटा प्रतिवेदन हेर्दै थिएँ। हुम्ला त्यो लिस्टको अन्तिम दोस्रोमा रहेछ। हुम्ला भन्दा पनि पछि पर्ने जिल्ला मुगु रहेछ। देशले पुछारका २० जिल्लालाई विशेष कार्यक्रम ल्याउनु पर्ने हो। कार्यक्रम शायद फाइलमै सडिरहेका होलान्, जसरी उता औषधि नपाएर मरेका मानिसहरु सडिरहेका छन्। उनीहरु पनि चहान्छन् होला सुविधापूर्ण अस्पताल बनोस्, कलेज बनुन्, सुकिला लुगा लागाएर हिंड्न, बस-हवाई जहाज चढेर सजिलै आ-आफ्नो गन्तव्य पुग्न। कसले बनाइदिन्छ यहाँ? किन बन्दैन यहाँ? कि सधैंभरि एउटा "विकट" जिल्ला नै भैरहने पो हो कि? काठ्माडौंको कानमा चिच्याएर भन्नु पर्‍यो - "काठ्माडौलाई मात्रै किन चाहियो ३०० अस्पताल र नर्सिंग होम्स्, राम्रो जागिर खानलाई काठ्माडौं खाडल नछिरी किन हुन्न?" क्षेत्रीय संतुलन बनाउने हो भने, बराबर विकास गरिनु पर्‍यो, सधैं कहाँबाट बढी भोट आउँछ त्यहीं मात्र काम गर्ने होइन।