Sunday 31 January 2010

हुम्ला - दामोदर पुडासैनी 'किशोर'

असाध्यै मन परेपछि
चुम्बन
चुचुरामा गरे पनि हुन्छ
खोंचमा गरे पनि हुन्छ ।
कति राम्ररी पढी रहन जानेकी
बादलु जाले
फापर, कोदो र कागुनुका बारीहरूमा
फिंजायौ कि कसो
रङ्ग-रङ्गका पोतेहरू
सुलुत्त परेको नाकमा
हिमानी बुलाकी झल्के पछि
सुनफूल होइन हिमफूल
निधार भरि टल्के पछि
रिसाए-रिसाए जस्तो गर्दै मुसुक्क हाँसे पछि
खित्का छोडेर हाँस्दा-हाँस्दै
बलिन्द्र धारा आँसु बगाए पछि
कसरी रित्तै बसी रहन सक्छ र
न्यानो मेरो अँगालो?
कतिले फोहोरी भने तिमीलाई
मैले तिम्रा ककराहरूबाट शिलाजीत पिएँ
कतिले 'तिती' र 'टर्री' भने तिमीलाई
मैले तिम्रा अङ्ग-अङ्गबाट
कटुकी र पाखनवेदको उज्यालो पिएँ
यार्चागुम्बाको नदी बगाइरहेकी तिमीलाई
कसरी ठिङ्ग उभिई रहेकी ढिस्को मात्र ठाने अरूले
म त तिम्रो जुन अङ्गको स्पर्शले पनि
तात्दै-तात्दै चढिरहेछु ।
कहिले पो हुन्छ र अप्ठेरो
आमाको काखमा
कहिले पो हुन्छ र पीडा
प्रेयसीको अङ्गालोमा
धूलो, धूलो होइन
त्यो अंश हो अलिकति आमाको
काँडा, काँडा होइन
हेर्दैछन् खोला छेउका धूपीहरू ।
कहाँ फुर्सद छ र तिमी र मलाई
क्षण-क्षणमा प्रेममा कुतकुतिन
तर यी गाउँका मान्छेहरूका लागि त छ
सधैँ प्रेम पर्न
रङ्गीन छ दुनियाँ गाउँहरूका लागि
नशालु छ संसार उनीहरूको लागि
दोभानमा उभिएर
निस्तब्ध पहाडहरूसँग सोधि रहेछु
त्यता तिरको तिम्रो खबर।

2 comments:

  1. aakha ma gara hudina ani khaber kawa la pani dina sakcha tatatira ko u may understand kina dovan ma uvinu bhayo kabi gau ..any way its testy

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete