Thursday 27 May 2010

सिफारिसबिना पाइँदैन चामल


जनक नेपाल

सिमकोट (हुम्ला), जेष्ठ ८ - डाँडाफाय-३ स्थित ग्वालेखोरकी गौरी विक चामलको लाइन बस्न बिहान २ बजे उठेर सिमकोट आइन् । खाद्य संस्थानको चौरमा घन्टांै लाइन बसे पनि उनी रित्तो हात फर्किनुपर्‍यो । किनभने उनीसँग नेता, सभासद वा प्रमुख जिल्ला अधिकारीको सिफारिसपत्र थिएन ।

'उता छोराछोरी भोकै छन्, यहाँ चामल पाइएन' ३४ वषर्ीया उनले कान्तिपुरसित भनिन्- 'नेता-सांसद चिनेकी छैन । कसको सिफारिस ल्याउने ?' चार दिन आधा पेट खाएर ढुंगा ओसारेको ज्याला बोकेर उनी चामल लिन सिमकोट झरेकी हुन् ।

विक परिवारको तीन महिना खान पुग्ने बारी छ । तर, खडेरीले गत वर्ष उब्जनी भएन् । उनको मात्र होइन सिंगो गाउँमा अहिले खाद्य संकट छ । ज्याला मजदुर गरेर जीविकोपार्जन गर्दैआएका उनीहरूलाई पैसा कमाउनभन्दा खाद्यान्न जुटाउनु ठूलो समस्या भएको छ । 'गत वर्ष सिस्नो त हरियो थियो, खोले पकाउँथ्यांै । यो वर्ष सिस्नो पनि पलाएन'- गौरीले भनिन् ।

खाद्य संस्थानका हुम्ला प्रमुख हरिप्रसाद जोशीको टेबुलमा चामलका लागि दिनहुँ दर्जनौं सिफारिस पत्रहरू पुग्छन् । सिफारिस पत्रवाहकसँग उनी नाइँनास्ती गर्न सक्दैनन् । 'सञ्चयकोष पाउने र रक्सी बनाउनेले पाउँछन् । हामीले पाउँदैनौं'- उनले भनिन् ।

प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका नेताहरू र सभासद्हरूले ससाना चिटमा लेखेका हुन्छन्- 'खाद्य प्रमुखज्यू, चामल दिनुहोला ।' तर, गौरी र उनीजस्ता गाउँले विपन्न परिवारका लागि सिफारिस गरिदिने सिमकोटमा कोही छैन ।

चार घन्टा पैदल हिँडेर सिमकोट पुगेकी छिप्रा गाउँकी नैनकला शाही पनि रित्तै फर्किनुपर्‍यो । खाद्य कार्यालय पुग्नासाथ कर्मचारीले सोधे- 'सिफारिस छ ?' उनले छैन भन्न नभ्याउँदै ती कर्मचारीले अर्को दिन आउन भने ।

खाद्य संस्थानले आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा झन्डै सात हजार क्विन्टल चामल बिक्री गरिसकेको छ । तर, खाद्य संकट उत्पन्न भएकाले थप पाँच हजार क्विन्टल चामल माग गरिएको छ । संस्थानका हुम्ला प्रमुख जोशीले भने, 'खडेरीले गहुुँ र मकै उत्पादन राम्रो भएन । त्यसैले चामल आपूर्ति नभए संकट उत्पन्न हुने स्थिति छ ।'

संस्थानको चामल सदरमुकाम र वरपरका गाउँका बासिन्दाले मात्र पाइरहेका छन् । गाविस र वडाका चामल कोटा सिमकोट बस्नेले खपत गरिरहेको जोशी स्वीकार्छन् । 'खाद्य व्यवस्था समितिको बैठकमा पनि कुरा उठ्छ । तर, चामल नदिए कुट्नै आउँछन्' उनले भने ।

सदरमुकामदेखि टाढाका गाउमा संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले हिमालय कन्जरभेसन र डिप्रोक्समार्फत् कामका लागि खाद्यान्न वितरण गर्दै आएको छ । विश्व खाद्यले बाँड्ने चामलको परिमाण संस्थानको भन्दा झन्डै दोब्बर छ । तर, वितरण गर्नका लागि सरकारी निकायसँग कुनै समन्वय छैन ।

संस्थान र जिल्ला प्रशासनलाई गैरसरकारी संघ-संस्थामार्फत् हुम्लामा कति चामल ढुवानी हुन्छ भन्नेसम्म जानकारी छैन । 'विश्व खाद्यको चामल लिन सिफारिस चाहिन्न' सदरमुकाममा विश्व खाद्यको चामल लिन आएकी डाँडाफायकी पूर्णकला विकले भनिन्, 'आफ्नै पाखोमा स्याउ लगायांै । काम सकेर चामल लिन आयांै ।'

लामो खडेरीले गत वर्ष कोदो, गहुँ, धान र उवाको उत्पादन ५० देखि ७० प्रतिशत घटेको कृषि विकास कार्यालयले जनाएको छ । पुस, माघ र फागुनमा हिउँ परेकाले यो वर्ष उत्पादनमा १५-२० प्रतिशत सुधार हुने अनुमान गरिएको कृषि कार्यालय प्रमुख रामनन्दन यादवले बताए । 'तैपनि, खाद्य संकट हुने स्थिति छ', उनले भने ।


-यो समाचार इकान्तिपुर डट कम बाट साभार गरिएको हो ।-

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete