Friday 11 December 2009

कर्णालीको विकासको साँचो: सडक


हिमाल ख़बर पत्रिकामा प्रकाशित सुवास देवकोटाद्वारा लिखित निम्न आलेख "सबै सम्भावना सडक मै"बाट साभार गरिएको हो।


दुर्गम कर्णालीको पनि विकट हुम्लाका धेरै समस्या सडकसँग गाँसिएका छन्। मोटरबाटो आइपुगे विकासको बाटो पनि खुल्ने हुम्लीहरूको विश्वास छ। सुवास देवकोटा को रिपोर्ट




जुम्ला हुम्ला गाडीमा कहिले पुग्ने हो
मोटर चढी राराताल कहिले घुम्ने हो

गायिका कुन्ती मोक्तानको स्वरमा यो गीत बज्न थालेको केही वर्षपछि जसोतसो जुम्लासम्म मोटर पुगेको छ, तर हुम्लै कहिले पुग्ने हो निश्चित छैन। २३२ किलोमिटर लामो सुर्खेत-जुम्ला सडकलाई अरू डेढ सय किमि तन्काएर हुम्ला पुर्‍याउने योजनासम्म छैन सरकारसँग अहिले। गीतमा भनिए झैं मोटर चढेर जुम्ला र हुम्लाको बीचमा पर्ने मुगुको राराताल घुम्न जाने सपना कहिले पूरा हुने हो, त्यो पनि अनिश्चित नै छ। रारा पुग्न कि त हेलिकप्टरकै बन्दोबस्त गर्नुपर्छ, कि कम्तीमा १५ दिन हिँड्नुपर्छ।

उसै त दुर्गम कर्णाली अञ्चल, त्यसका पाँच जिल्लामध्ये पनि सबैभन्दा विकट छ― हुम्ला। हुम्लीहरू आफ्नो जिल्ला अझ्ै केन्द्रको आँखामा पर्न नसकेको दुःखेसो गर्छन्। ५ लाख ६५ हजार ५०० हेक्टर क्षेत्रफलमा फैलिएको हुम्लाको पूर्वमा मुगु, दक्षिणमा बाजुरा र मुगु, उत्तरमा चीनको तिब्बत, पश्चिममा बझ्ाङ र तिब्बत पर्छन्। एक निर्वाचन क्षेत्र, नौ इलाका र २७ गाविस भएको हुम्लालाई भौगोलिक वनावट र हावापानीको आधारमा हिमाली, उच्चपहाडी, होचो पहाडी र नदीको बेसी चार क्षेत्रमा विभाजन गर्न सकिन्छ।

नवौंदेखि चौधौं शताब्दीसम्म तत्कालीन प्रभावशाली सिंजा साम्राज्यको अधीनमा रहेको हुम्ला २०१८ सालमा नेपाल ७५ जिल्लामा बाँडिनुअघिसम्म मुगुअन्तर्गत पर्दथ्यो र पश्चिम १८ नम्बर भनेर चिनिन्थ्यो। इतिहासका अध्येताहरूले प्राचीन कालदेखि नै हुम्लालाई दक्षिणका बौद्धधर्म प्रचारकले तिब्बत र चीन जाने तथा हिन्दू धर्मावलम्बीले तिब्बतस्थित मानसरोवर र कैलाशको तीर्थयात्रा गर्ने बाटोको रूपमा प्रयोग गरेका उल्लेख गरेका छन्।

२०५८ को जनगणना अनुसार हुम्लाको जनसङ्ख्या ४० हजार ७४९ छ, जसमध्ये नेपाली (खस) भाषी ७८ र भोटे (लामा) भाषी २० प्रतिशत छन्। उत्तरका लिमी, मुचु, खगालगाउँ, हेप्का, बरगाउँ र सिमीकोटमा भोटेभाषीको बाहुल्य छ भने अरू २१ गाविसमा खसभाषीको। जातीय हिसाबले क्षेत्री ४४, ठकुरी २०, लामा १६, बाहुन ६ र दलित ९ प्रतिशत छन्।

सडकः समस्या र सम्भावना

कुन्ती मोक्तानको गीतमा झैं अधिकांश हुम्लावासी सडक यातायात भए जिल्लाका धेरै समस्या समाधान हुने विश्वास गर्छन्। सडक नभएकोले उनीहरूले आफूलाई आवश्यक सरसामान प्रतिकेजी रु.१६८ सम्म तिरेर सुर्खेतदेखि हेलिकप्टरमा ल्याउनुपर्छ। नेपालगञ्जबाट आउने हवाईजहाजको ढुवानी भाडा पनि केजीको रु.१३० छ। सदरमुकाम सिमीकोटमा एक केजी चिनीको रु.१५० तिर्न बाध्य छन् हुम्लीहरू। त्यसैले उनीहरूको मीठो सपना बनेको छ― सडक।

जिल्लावासीको यो सपना तत्काल साकार हुने सम्भावना भने देखिँदैन। जुम्लाबाट हुम्ला सडक ल्याइपुर्‍याउन करिब १५० किमि छिचोल्नु पर्छ। सदरमुकाम सिमीकोटलाई तिब्बतको ताक्लाकोटसँग जोड्ने सिमीकोट-हिल्सा सडक सरकारको प्राथमिकतामा नपरेकोले त्यसमा पनि तत्काल मोटर गुड्ने सम्भावना छैन। एसियाली विकास ब्याङ्कको विकेन्द्रित ग्रामीण पूर्वाधार जीविकोपार्जन कार्यक्रमअन्तर्गत दुई वर्षदेखि निर्माण भइरहेको ८० किलोमिटरको यही ग्राभेल सडकमा पनि कर्णालीका विभिन्न सहायक नदीमा पुल निर्माणको योजना छैन।

भर्खरै हुम्ला पुगेका उप-प्रधान तथा गृहमन्त्री वामदेव गौतमले सरकारले सेनालाई लगाएर भए पनि २०६६ असोजसम्ममा सिमीकोट-हिल्सा सडक बनाइछाड्ने दाबी गरे। तर हुम्लीहरूले उनका कुरामा त्यति विश्वास गरेका छैनन्। हुम्लाबाट सांसद् र मन्त्री भइसकेका छक्कबहादुर (छेवाङ) लामा भन्छन्, “उहाँलाई हेलिकोप्टरबाट हेर्दा बाटो ल्याउन सजिलै लाग्यो होला, तर त्यसमा पर्ने ठूला नदीमा पुल बनाउन र अजङ्गका चट्टान काट्न त्यति सजिलो छैन।” अहिले रोजिएको बाटोलाई पनि गलत ठान्ने लामाको विचारमा यसलाई सिमीकोटबाट सल्लीखोला हुँदै लिमीतिर लैजानुपर्छ र ललुङ नाकाबाट तिब्बत छिराउनु पर्छ। लिमीबाट लुलुङसम्म समथर पठार भएकोले त्यो बाटोको निर्माण सजिलो र सस्तो हुने तथा त्यसका लागि नेपालले चीनलाई सन् १९५० सम्म चालू रहेको ललुङ नाका खोल्न मात्र गुहारे पुग्ने उनको तर्क छ।


जताबाट भए पनि हुम्लालाई मोटरबाटोले तिब्बतसँग जोड्न सके जिल्लाको विकासको ढोका खुल्नेमा सबै हुम्ली एकमत छन्। तिब्बतसँग सडक जोडिए १२०० किमि तिब्बती भूमि छिचोल्नुपरे पनि काठमाडौंको सामान प्रतिकेजी रु.१२-१३ मै सिमीकोट आइपुग्ने उनीहरू बताउँछन्। हुम्ला जिविसका निवर्तमान सभापति जीवनबहादुर शाही भन्छन्, “तिब्बतसँग सडक जोडिए काठमाडौंको सामान हुम्ला पुग्ने मात्र होइन, हुम्लाको स्याउ र जडिबुटीले पनि काठमाडौं र अन्य क्षेत्रको बजार पाउनेछन्।”

चीनले तिब्बत र नेपाली सीमाको समानान्तर रेखामा पक्की सडक निर्माण गरिसकेकाले हुम्लीहरूलाई उत्तरतर्फको सडक सम्पर्क बढी लाभदायी हुने आश जागेको हो। निवर्तमान सभापति शाही पक्की सडक नहुँदा मोटरमै चार दिन लाग्ने खासादेखि ताक्लाकोटको बाटो अहिले दुई दिनमै छिचोल्न सकिने र यसमा कुनै असुरक्षा र असुविधा पनि नभएको बताउँछन्। “हाम्रा हिमाली जिल्लालाई मुलुकको मूलधारमा जोड्ने हो भने उत्तरतर्फको सडक सम्पर्कको विकल्प छैन”, उनी भन्छन्।

समृद्धिः पर्यटन र जडिबुटी
हुम्लालाई अहिलेसम्म पर्यटकहरूले कैलाश र मानसरोवर जाने बाटोका रूपमा मात्र प्रयोग गरेका छन्। तर आफूकहाँ पर्यटकीय गन्तव्य बन्ने प्रसस्त ठाउँ भएको हुम्लीहरूको विश्वास छ। समुद्री सतहबाट २,९४५ मिटरमा अवस्थित सिमीकोटदेखि उत्तरतर्फ मानसरोवर जाने बाटोमा देखिने दर्जनौं आकर्षक झ्रना र सुन्दर, विशाल पठारले पर्यटकहरूको मन सजिलै लोभ्याउँछन्। क्यानडाको हाई हिमालय ट्रेक्स एण्ड टुर्सकी वान्डा भिभेकाँ भन्छिन्, “हुम्लालगायत पश्चिम नेपालको प्रचार नभएर मात्र हो, पर्यटकहरूको मन लोभ्याउने ठाउँ कति छन्, कति!”


उत्तरी हुम्लामा पश्चिमी पर्यटक तान्न लामा संस्कृतिले पनि सक्छ। राली र हाल्जी जस्ता शताब्दीऔं पुराना ऐतिहासिक गुम्बा आकर्षक गन्तव्य बन्न सक्छन्। “उत्तरी हुम्लाको संस्कृति, जीवनशैली, भेडा र याकलाई सामान बोकाएर गरिने व्यापार पनि पर्यटकहरूका लागि रोचक र आकर्षक हुनेछन्”, छक्कबहादुर लामा भन्छन्, “यीबाहेक चट्टानै चट्टानका पहाड र फराकिला समथर पठारहरू गन्तव्य बन्न सक्छन्।”

हुम्लामा पर्यटन विकासको सम्भावनाका कुरा गर्दा कैलाश र मानसरोवरलाई छुटाउन सकिँदैन। यद्यपि, प्रचारको कमी र कठिन बाटोका कारण मानसरोवर जाने पर्यटकको सङ्ख्या धेरै देखिँदैन। हुम्लाका पत्रकार गोरखबहादुर बिष्टका अनुसार, गत वर्ष हुम्ला भएर २५० जना मात्र पर्यटक मानसरोवर गएका थिए। उनी भन्छन्, “सशस्त्र द्वन्द्व समाप्त भएको र सिमीकोटमा सुविधाजनक होटलहरू बनेका कारण यो वर्ष पर्यटकहरूको सङ्ख्या अघिल्लो वर्षभन्दा बढ्छ कि भन्ने अनुमान थियो, तर 'लम्पिकका बेला चीनले नेपालका नाकाबाट समेत विदेशीहरूको प्रवेशमा बन्देज लगाएकाले धेरै आएनन्।”

हुम्लाको आकर्षणको प्रचार गर्नसके पर्यटकहरूको सङ्ख्या बढ्ने सम्भावना भए पनि त्यसबाट हुम्लीहरूलाई प्रत्यक्ष फाइदा दिलाउन त्यति सजिलो छैन। पर्यटकहरूको गन्तव्य बन्न सक्ने उत्तरी हुम्लामा खाद्यान्न उत्पादन कम छर आफ्नो उत्पादन बेचेर फाइदा लिन सकिन्छ भन्ने चेतना पनि आइसकेको छैन।

दुई पटक सिमीकोटबाट तिब्बतको सिमानामा पुगिसकेकी वान्डा भन्छिन्, “सिमीकोटबाट हिल्साको चार दिन लामो पैदलयात्रामा केही कप चियाका लागि बाहेक हाम्रो पैसै खर्च भएन। त्यहाँ न पसल थिए, न त्यहाँका मानिसमा सामान बेचेर पैसा कमाउने चाहना देखिन्थ्यो।” जीवनबहादुर शाही पनि वाण्डाको भनाइसँग सहमत छन्। “मैले हुम्लामा आवश्यक देखेको चार चिजमध्ये बाटो, बिजुली र बजारपछि विचार पनि हो। यी चारै चिज एकापसमा जोडिएका छन्― अघिल्ला तीन वटा भएपछि मानिसहरूमा विचार पनि आउँछ। विचार भन्नाले आधुनिक सञ्चार र शिक्षा हो, जसले उनीहरूलाई कमाउने र बाँच्ने तरिका सिकाउँछ।”

हुम्ला जिविसको तथ्याङ्क अनुसार, जिल्लाको क्षेत्रफलमध्ये खेतीयोग्य जमिन एक प्रतिशत अर्थात् ५,०२० हेक्टर मात्र छ। यसको १० गुणा बढी जमिन हिउँले ढाकिएको हुन्छ भने ६० गुणा चट्टानै चट्टानले भरिएको। खेतीयोग्य भूभागभन्दा ४० गुणा बढी वनजङ्गल र चरन क्षेत्र भएको हुम्ला खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने सम्भावना कम भएपनि जडिबुटीमा धनी छ र पशुपालनमा पनि प्रगति गर्न सक्छ। पूर्व सांसद् तथा मन्त्री लामाको भनाइमा हुम्लाको जडिबुटीले पनि यातायात असुविधाकै कारण बजार नपाएको हो। तर, केही वर्षदेखि हुम्लीहरूले जडिबुटीको व्यावसायिक खेती गर्न पनि थालेका छन्। लामा भन्छन्, “बाटो जोडिने हो र जडिबुटीबाट हुम्लीहरूले आर्थिक फाइदा पाउन थाल्ने हो भने जङ्गल-पहाड सबैतिर जडिबुटी खेती हुनेछ।”

हुम्लीको जीवनस्तर उकास्न सक्ने सम्भावना हुम्लाको उत्तरी भेगको चिसो ठाउँमा फल्ने स्याउमा पनि त्यत्तिकै छ। तर, अन्य हिमाली जिल्लाको जस्तै हुम्लाको स्याउले पनि बजार पाउन सकेको छैन। हुम्ला सडक मार्गसँग जोडिए स्याउसँगै यहाँको आलु र मुलाले पनि बजार पाउने र हुम्लीको जीवनस्तर अझ् उकासिनेछ।

कठोर जीवनयापन
अरू दुर्गम र विकट जिल्लाको भन्दा पनि कठिन र दुष्कर छ हुम्लाको जीवन। हुम्लीहरू मुलुकको एकीकरणदेखि नै काठमाडौंकेन्द्रित राज्यको आँखा पर्न नसकेकोले हुम्लाको जीवन बढी कष्टकर बनेको ठान्दछन्। जिल्लाको विकासबारे सोच्ने र योजना बनाउने अधिकार स्थानीय बासिन्दालाई भन्दा काठमाडौंमा बस्नेहरूलाई भएकाले हुम्ला पछिपरेको उनीहरू बताउँछन्। छक्कबहादुर लामा भन्छन्, “यहाँको वास्तविकता र सम्भावनाबारे थाहै नभएकाहरूले विकासको योजना बनाउने अधिकार पाएका छन्, समस्याको एउटा कारण यो पनि हो।”

मोटरबाटो र सिंचाई जस्ता विकासका पूर्वाधार निर्माणमा भन्दा हेलिकप्टर र हवाईजहाजबाट खाद्यान्न झ्ार्नेमा सरकारको बढी ध्यान गएकाले आफूहरू पछिपरेको ठान्नेहरू हुम्लामा धेरै छन्। पत्रकार बिष्टका अनुसार, हेलिकप्टरबाट हुम्लामा सरकारले बर्सेनि करिब रु.६ करोड खर्च गरेर १० हजार मेटि्रक टनभन्दा बढी चामल ढुवानी गर्दछ, तर खाद्यान्न उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने सम्भावना बोकेका दक्षिण हुम्लाका जैर, कालिका, श्रीनगर, मैला र मदना गाविसमा सिंचाई पुर्‍याउन एक करोड पनि खर्च गरेको छैन।

सरकारी खर्चमा हुम्ला पुग्ने अधिकांश खाद्यान्नको सदुपयोग भएपनि दुरुपयोग भइरहेको पनि सुनिने गरेको छ। हुम्लाका सञ्चारकर्मीहरू प्रतिकेजी रु.२६ देखि ३५ मा सिमीकोटमा पाइने मध्यमस्तरको चामल मादक पदार्थ बनाउन पनि प्रयोग हुने गरेको बताउँछन्। खाद्यान्न अभावले जिल्लामा भोकमरी फैलिएको समाचार बर्सेनि आउँछ भने मजदुरीका लागि भारत जाने हुम्लीको सङ्ख्या पनि ठूलो छ।

हुम्लीको जीवनस्तरमा परिवर्तन ल्याउन गैरसरकारी संस्थाहरूको प्रयास जारी रहे पनि ती पर्याप्त मानिएका छैनन्। हुम्लामा कार्यरत विकासे कार्यकर्ताहरू जिल्लाका विकास कार्यक्रम र गैरसरकारी संस्थामा हुम्ली जनताको प्रत्यक्ष सहभागिता नहुनु नै यहाँको विकासले गति लिन नसक्नुको कारण ठान्छन्। जिल्लाको दिगो विकासमा लागेका कतिपय संस्था र जिल्लावासीको सोचाइमा भिन्नता तथा त्यही कारण कतिपय विषयमा विवाद हुनु पनि समस्या बनेको छ। पढेलेखेका हुम्लीमा जिल्लामा बस्न अनिच्छा र जिल्लाका बासिन्दामा आधुनिक चेतनाको कमी नेपालका धेरै दुर्गम जिल्ला जस्तै हुुम्लाको विकासको पनि एउटा प्रमुख समस्या हो। यद्यपि, पछिल्लो समय केही युवा हुम्ली बाहिरका अवसर छाड्दै जिल्लामै बसेर सकारात्मक सन्देश दिन सफल भएका छन्।

(यो रिपोर्ट नेशनल इन्स्टिच्यूट फर डिभलप्मेन्ट स्टडिज् निड्स को सहयोगमा तयार पारिएको हो।)


--------------------------------------------------------------------------------

विचार

प्राकृतिक स्रोतको खानी

डा. अनिता मानन्धर

आवश्यकताले मानिसलाई प्राकृतिक स्रोत परिचालन गर्न बाध्य बनाउँछ। दुर्गम क्षेत्रमा रहेका कारण आधुनिक विकासबाट टाढा हुम्लावासीले पनि जीविकोपार्जनका लागि प्राकृतिक स्रोतकै बढी उपभोग गर्दै आएका छन्, यही नै उनीहरूको जीवनको आधार बनेको छ। केन्द्रीय तथ्याङ्क विभाग तथा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोड को सन् २००३ को सर्वेक्षणमा विकासका आधारमा दोस्रो पिछडिएको जिल्लाको रूपमा देखापरेको हुम्ला प्राकृतिक स्रोतमा भने त्यति पछाडि छैन।

हुम्लाको एक प्रतिशत भूभाग मात्र कृषियोग्य छ, तर ८७.६ प्रतिशत जनसङ्ख्या कृषि क्षेत्रमा निर्भर छ। खेतीयोग्य जमिन कम भएपनि समृद्ध जैविक विविधताका कारण हिमालदेखि तराईसम्म हुने विभिन्न किसिमका खाद्यान्न तथा बोटविरुवा भने हुम्लामा पनि पाइन्छन्― तीते-मिठे फापर, कोदो, चिनो, कागुनो तथा जिल्लाको दक्षिणी भेगमा मात्र फल्ने धान आदि। हुम्लामा राम्रै परिमाणमा उत्पादन हुने कोदो जातको चिनोको भात खाने चलन पछिल्लो समय चामलको भात खाए मात्र ठूलो हुने मान्यता विकास भएकोले पछाडि परेको छ। सरकारले हवाईजहाजबाट बर्सेनि हजारौं क्वीन्टल चामल पुर्‍याएर हुम्लालाई अरूप्रति निर्भर बनाउँदै लगेको छ। यसको सट्टा स्थानीय सम्भावना भएका अन्नपातलाई नै महत्व दिएको र तिनको उत्पादन वृद्धिका लागि पूर्वाधार निर्माणमा सहयोग पुर्‍याएको भए जिल्ला आत्मनिर्भर हुन्थ्यो, जिल्लाको आर्थिक अवस्था बलियो हुन्थ्यो र आफ्नै भेगमा उत्पादित खानेकुराले जिल्लावासीको स्वास्थ्य पनि राम्रो हुन्थ्यो।

वन हुम्लाको समृद्ध प्राकृतिक स्रोत हो। हुम्लामा त यसलाई प्राकृतिक स्रोतको खानी नै मानिन्छ। यहाँको वनमा अनेकौं जडिबुटी पाइन्छन्। तिनलाई औषधिमुलोको रूपमा प्रयोग गर्न जान्ने वैद्य र आम्चीहरू पनि प्रसस्तै छन्। जडिबुटीको संरक्षण, सम्बर्द्धन र अनुभव आदान-प्रदानसम्बन्धी कार्यशाला तथा गोष्ठीमा उनीहरूले हुम्लामा करिब १६० जातका जडिबुटी पाइने बताएका छन्। तीमध्ये २५-३० किसिमका जडिबुटी चीन र भारत निर्यात हुने गरेको छ, जसमा पदमचाल, कटुकी, जटामसी, पाँचऔंले, यार्सागुम्बा, गुच्चिच्याउ, चिराइतो, सुगन्धवाल आदि छन्। एक तथ्याङ्क अनुसार, हुम्लाबाट जटामसी मात्रै वर्षमा ५० हजार केजी निर्यात हुन्छ।

जडिबुटी सङ्कलन र बिक्रीबाट हुने फाइदाले गर्दा यसमा धेरै मानिसहरू लाग्न थालेका छन्। हुम्लाका कतिपय गाउँका त प्रत्येक परिवारबाट कम्तीमा एकजना जडिबुटी सङ्कलनमा संलग्न भेटिन्छन्। खेतीपातीको समय छोडेर वर्षको एक-दुई महिना मात्रै संलग्न हुँदा पनि कम्तीमा रु.२००० कमाई हुने भएकाले यो क्रम बढेको हो। यस सँगसँगै व्यापारिक महत्व भएका जडिबुटी लोप हुने खतरा पनि बढ्दै गएको छ। कटुकी लोप हुने अवस्थामा पुगेकोले सरकारले अहिले यसको सङ्कलन र बिक्रीमा प्रतिबन्ध लगाएको छ। तर, प्रतिबन्ध मात्रै पनि समस्याको समाधान होइन। त्यसैले जडिबुटी संरक्षण र त्यसबाट निरन्तर आम्दानी गर्न सकिने बाटो खोज्नुपर्ने आवश्यकता छ।

No comments:

Post a Comment