Friday 18 December 2009

कर्णालीमा भाऊ अचाक्ली

जीवन जिउनुको पनि तरीका हुन्छ, सहज र सरल जीवन जिउनु कुन चराको नाम हो यस्तै भएको छ, हुम्ली जनतालाई। कष्टकर जिंदगी जिउनु त छँदैछ, त्यस माथि बाध्यात्मक "खाए खा नखाए घिच"को जिंदगी जिईरहेका छन् हुम्ली जनताले।

नेपालगन्जमा  १०० रुपैयाँ लिटरमा पाइने खानेतेल हुम्लाको सदरमुकाम सिमकोट पुग्दा ३२० रुपैयाँ पर्छ। ६ देखि १२ रुपैयाँसम्म पर्ने लुगा धुने साबुन ३० देखि ६० रुपैयाँमा किन्नुपर्छ। ५५ रुपैयाँ पर्ने मट्टीतेलको मूल्य ३ सय ५० रुपैयाँ पर्छ। महँगीले थलिएका हुम्लावासी तैपनि भनेका बेला सामान पाउँदैनन्। कर्णाली पुग्ने एकमात्र स्थलमार्ग कर्णाली राजमार्ग(नेपालमा शाही शासनको अवसान पछि "राजमार्ग"लाई थुप्रै संचार माध्यमले अविवेकपूर्ण रुपले "लोकमार्ग" बनाएकोमा मेरो विमति छ, त्यसैले) ६ महिनादेखि अवरुद्ध भए पछि निजी एयरलाइन्सहरूले ढुवानी भाडामा मनोमानी गर्दा यस्तो समस्या आएको हो। सुर्खेतबाट कालिकोटको पिलीसम्म आंशिक रूपमा यातायात चले पनि त्यहाँदेखि गाडीबाट ढुवानी गरेर ल्याएको खाद्यान्न जुम्ला पुग्दा निकै महँगो हुन्छ। जुम्लामा चिनी प्रति किलो १३० रुपैयाँमा बिक्री भइरहेको छ। दैलेखको खिडकीज्युलाबाट पिलीसम्मको ढुवानी खर्च नै प्रति किलो १५ रुपैयाँ तिर्नुपरेको स्थानीय व्यापारी थानेश्वर पोख्रेलले बताए।

विश्व खाद्य कार्यक्रमको चामल ढुवानी गरे बापत मोटो रकम पाउने गरेका निजी एयरलाइन्सले स्थानीय व्यापारी र नेपाल खाद्य संस्थानको चामल समय मै ढुवानी नगरिदिँदा कर्णालीका जिल्लाहरूमा खाद्यान्न लगायत उपभोग्य वस्तु अभाव भएको हो। 'खाद्य संस्थानको चामलसमेत समयमा ढुवानी हुँदैन,' संस्थानको अञ्चल कार्यालय नेपालगन्जका निमित्त प्रमुख दुर्गा ओझाले भने, 'उनीहरूको मनपरीले गर्दा भनेको समयमा चामल पुर्‍याउनै सकिँदैन। 'एक महिनाअघि मात्रै निजी एयरलाइन्सहरूले हुम्ला, डोल्पा, जुम्ला, बाजुरा, मुगु लगायत जिल्लामा कार्गो भाडा फेरि बढाएका छन्। उनीहरूले भाडादर बढाएर नेपालगन्जदेखि प्रतिकिलोको हुम्लामा ९५ रुपैयाँ, डोल्पामा ७५, जुम्लामा ६५, बाजुरामा ६५ र मुगुमा ८५ रुपैयाँ पुर्‍याएका हुन्। भाडा बढेपछि हवाई यातायातको विकल्प नभएको मुगुको स्थिति अझ नाजुक भएको छ। त्यहाँ विश्व खाद्य कार्यक्रमको चामल मात्रै महँगो भाडामा ढुवानी गरेको भन्दै स्थानीय व्यापारीले एक महिनाअघि निजी जहाज र हेलिकप्टरहरूलाई ताल्चा विमानस्थलमा अवतरण गर्न रोक लगाएका थिए। जुम्लामा पनि तारा एयरलाइन्सले एकपक्षीय रूपमा ढुवानी भाडा बढाएको विरोधमा स्थानीय व्यापारीहरू आन्दोलित छन्। भाडा नघटाए हवाई यातायात बन्द गर्ने जुम्लीले चेतावनी दिएका छन्।

जहाजहरूले बढेकै मूल्यमा सामान ढुवानी गरिदिए पनि कर्णालीका जनताहरूलाई धेरै सुविस्ता हुने स्थानीय व्यापारी बताउँछन्, तर कार्गो एजेन्सीले तोके भन्दा दोब्बर र तेब्बरसम्म भाडा लिने गरेका छन्। 'बीचका दलालहरूले गर्दा नेपालगन्जमा ६० रुपैयाँमा पाइने सामान डोल्पा र हुम्ला पुग्दा ३५० पर्छ,' स्थानीय कर्ण रावलले भने। निजी एयरलाइन्सहरूले व्यापारी र सर्वसाधारणको सामान सीधै बोक्न मान्दैनन्। उनीहरूले कार्गो एजेन्सीमार्फत ढुवानी गर्ने गरेका छन्। हवाई ढुवानीमा गरिएको सिन्डिकेट प्रणालीले समेत स्थानीयवासी मारमा परेका छन्। उनीहरूले जिल्ला दररेट अनुसार सामान ढुवानीको माग गर्दै आएका छन्। एयरलाइन्सले कार्गा एजेन्सीमार्फत मात्र ढुवानी गर्ने भएकाले त्यस्ता एजेन्सीहरूबाट आफूहरू थप मारमा परेको व्यापारीको भनाइ छ।

गत वर्षदेखि विश्व खाद्य कार्यक्रमले हवाई भाडा महँगो दिएर ढुवानी गराउँदा अरू व्यापारी मारमा परेको बताउँछन्। सर्वसाधारणको सामान नबोक्ने हुँदा बाध्य भएर व्यापारीले पनि महँगो भाडा तिरेर हेलिकप्टरबाट ढुवानी गराउनुपरेकाले सामान महँगो भएको बताए। 'महँगो ढुवानीले गर्दा उपभोक्तामाथि थप भार परेको हो,' उद्योग वाणिज्य संघका सचिव लालचन्द ढकालले भने। मनोमानी भाडाको विरोधमा हुम्लीले दुई महिना अघि सिमकोट विमानस्थलमा तारा एयरका दुई जहाज र तीन हेलिकप्टर झन्डै तीन घन्टा कब्जा गरेका थिए। सहुलियत दरमा सातामा एक पटक उडान गर्ने सहमति भए पनि त्यो लागू नगरिएको स्थानीयवासीको गुनासो छ । निजी मात्र नभई सरकारी स्वामित्वका सामान मात्र बोक्ने सेनाको स्काइट्रकले पनि यस्तै कार्गा सेवामार्फत निजी व्यापारीको सामान ढुवानी गर्ने गरेको छ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete