Sunday 13 December 2009

उही पुरानो घाउ

कति सुन्ने नसुनी पनि नहुने हुम्लाको भोकमरीको समाचार

नेपालगन्ज, २०६६ मंसिर १६ - चर्को खाद्यान्य समस्या झैल्दै आएको कर्णाली क्षेत्रका ही जिल्लामा मंगलवार देखि चामल ढुवानी सुरु भएको छ।

कर्णालीका बिकट जुम्ला, डोल्पा लगायतका जिल्लामा नेपाल खाद्य संस्थानले हवाई र स्थलमार्गबाट ढुवानी सुरु गरेको हो । नेपाल खाद्य संस्थानका महाप्रबन्धक हरिनारायण शाहका अनुसार, खाद्यान्नको अभाव हुन नदिन सरकारले तत्काल ढुवानी सुरु गरेको हो। चामल र नुनको चर्को समस्या झेल्दै आएको मुगु र हुम्ला जिल्लामा भने अझै ढुवानी सुरु भएको छैन। "मुगुमा एयरपोर्ट निर्माणाधीन अवस्थामा रहेकाले ढुवानी गरिरहेको एयर काष्टमण्डपले लग्न मानेको छैन।" सुर्खेत स्थित नेपाल खाद्य संस्थानका कार्यालय प्रमुख कुलबहादुर गुरुंङले भने ।

जुम्ला डोल्पा र कालिकोट जिल्लाकालागि नेपालगन्ज र सुर्खेतबाट ढुवानी सुरु गरिएको छ। प्रमुख गुरुंगले मंगलवार सुर्खेतबाट जुम्लाका लागि तत्काल ६ सय ३७ क्विन्टल चामल ढुवानी भएको बताए। डोल्पामा स्थल मार्ग भएर एक सय क्विन्टल र कालिकोटका थिर्पु खाद्य डिपो अन्तर्गतका दुर्गम गाबिसमा १ हजार क्विन्टल चामल गईसकेको जानकारी कार्यालय प्रमुख गुरुंगले दिएका छन।

डोल्पामा १ हजार १ सय ५६ क्विन्टल चामल मौज्दात रहेकाले समस्या नभएको उनले बताए। जाजरकोटका लागि ५ हजार क्विन्टल र रोल्पामा २ हजार क्विन्टल चामल गईसकेको नेपालगन्ज स्थित खाद्य संस्थानका स्टोरकिपर यम उपाध्यायले बताए। दैलेखमा सुर्खेतबाट ४ हजार क्विन्टल गईसकेको जनाईएको छ । "मुगु र हुम्ला छाडेर अन्य जिल्लामा चौमासिक लक्ष्य अनुसारको खाद्यान्य गईसकेको छ।" सुर्खेत स्थित संस्थान प्रमुख गुरुंगले भने, "जुम्लामा हजार क्विन्टल पुर्याए चौमासिक लक्ष्य पुरा हुन्छ।"

सरकारले यस बर्षकालागि कालिकोटमा ६,७००, रोल्पामा ५,०००, दैलेखमा ६,९६०, जाजरकोटमा २,९००, मुगुमा ६,७००, डोल्पामा १०,०००, हुम्लामा ७,०००, जुम्लामा १०,०००, बाजुरामा ८,००० र अछाममा ५,००० क्विन्टल चामल कोटा तोकेको छ । क्रमिक रुपमा कोटा अनुसारको चामल ढुवानी हुने संस्थानले जनाएको छ।

बर्षात कारण अबरुद्ध कर्णाली लोकमार्ग नखुल्दा पाच महिना यता कर्णालीका दुर्गम जिल्लाहरुमा नुन, चामलको अभाव चर्किएको थियो । केहि दिन यता कर्णाली राजमार्ग आंशिक रुपमा संचालनमा आएपछि स्थल मार्गबाट चामल ढुवानी सुरु गरिएपनि नेपालगन्ज स्थित साल्टट्रेडिंग कर्पोरेसन लिमिटेडले भने नुन ढुवानी सुरु गरेको छैन ।

स्थलमार्गबाट ढुवानी गर्न बाटोको असुबिधा र हवाई मार्गबाट खाद्य ढुवानी गर्न निजि एअरलाईन्सहरुको मनोमानी र चर्को भाडा बृद्धिले समस्या हुदै आएको स्थानिय ब्यापारी तथा नेपाल खाद्य संस्थानले जनाउदै आएका थिए । 'तत्कालका लागि समस्या टार्न स्थल र हवाई मार्ग दुबै अपनाएर अहिले ढुवानी सुरु गरेका हौं ।' कार्यालय प्रमुख गुरुंगले कान्तिपुर सित भने ।

हवाई यातायात बाहेक अर्को बिकल्प नभएका हिमाली जिल्ला मुगु र हुम्लामा भने समस्या उस्तै भएको स्थानियबासि बताउछन । निजि एयरलाईन्सका जहाज तथा हेलिकोप्टरहरुले बिश्व खाद्य कार्यक्रमको चामल मात्रै महंगो भाडा लिएर ढुवानि गर्ने गरेको आरोप स्थानिय ब्यापारीहरुले लगाउदै आएका छन ।

एक महिना अघि नीजि क्षेत्रका जहाज तथा हेलिकोप्टरहरुलाई मुगुको ताल्चा बिमानस्थल अवतरणमा रोक लगाईएको थियो । हुम्ला र जुम्लामा समेत निजि एअरलाईन्स बिरुद्ध स्थानियबासिले प्रदर्शन गरेका थिए । नीजि एअरलाईन्सहरुले कार्गो भाडा बृद्धि गरेका कारण समेत कर्णालीका जिल्लाहरुमा दैनिक उपभोग्य समानको अभाव हुदै आएको छ ।

कर्णाली राजमार्ग संचालनमा आएपछि ट्रयाक्टर बाट थप चामल ढुवानी गरिने संस्थानले जनाएको छ । सुर्खेतबाट जुम्लाका लागि एक साता यता तारा एयर का तीन जहाज, सीता एयरका दुई र काष्ठमाण्डपको एउटा जहाजले चामल ढुवानी गरिरहेको खाद्य संस्थान जुम्लाका प्रमुख जयराज ओझाले बताए ।

साभार : इ-कान्तिपुर.कममा प्रकाशित राजेन्द्र नाथ / नवराज शाहीको आलेख

No comments:

Post a Comment